काठमाडौं – सरकारले लकडाउन अझै बढाउने आशंका भइरहदा अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भने बैशाख पछि लकडाउन अन्त्य गर्नुपर्ने धारणा राखेको छन् ।

अध्यक्ष दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया राख्दै सो विचार प्रस्तुत गरेका हुन् । यद्यपि यो आफ्नो ब्यक्तिगत विचार भएको समेत दुलालले बताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले चैत ११ गते देखि लकडाउन आदेश जारी गरेको छ । यो आदेश बैशाख १५ गतेसम्म यथावत राखिएको छ ।

उनले यसपछि बरु सुरक्षित हुने तरिकाले केही उपाय अपनाएर लकडाउन खोल्नु पर्ने र यसो भयो भने मात्र सबै वर्गले खान पाउने बताएका छन् । उनको भनाइमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

अध्यक्ष दुलालले फेसबुकमा यस्तो लेखेका छन् – ‘हामी लकडाउनमा छौं, अझै १५ दिन पनि लकडाउनमा बस्छौं । ठीक छ । यो अनि राम्रो र सही निर्णय हो । अझै समय र अबस्था हेरेर थप बैशाख अन्तिम सम्म पनि ठीकै होला । त्यसपछि विस्तारै सेवा र उद्योग खोल्नु पर्छ । सुरक्षा अपनाएर काममा लाग्नु पर्छ, किनकी खान नपाइ बाँच्न गाह्रो हुन्छ ।

बैशाख ३० पछि लकडाउन पूर्ण रुपमा लागू भएमा देशमा ठूलो विरोध हुन सक्छ । भोको पेट धेरै सहन गर्न सकिदैन । बहुमत मानिसले खान पाउने स्थिति हुँदैन । सम्पूर्ण सरोकारवाला संस्था, ब्यक्ति, सरकार, पार्टी जनमानसमा मेरो ब्यक्तिगत सुझाब छ – अब हामीले बैशाख पछि लकडाउन अन्त्य गर्नु पर्छ । बरु सुरक्षित हुने अवधारणा लागु गर्नु पर्छ । सरकारलाई मेरो अनुरोध कृपया बिचार गर्नु होला ।